फङफङदेन वाधाम (झरना)
नेपालको सुदुर पूर्र्वी जिल्ला ताप्लेजुङका मिक्वाखोला गाउँपालिका वाड नं. ४, साविक साँबा गाउँ बिकास समिति वडा न.२ अवस्थित फङफङदेन झरना प्राकृतिक सौदर्यले आकर्षक स्वर्गको टुक्रा झै आकर्षक छ । अत्यन्तै रमणीय र सुन्दर यो झरनालाई नेपाल सरकारले पर्यटकीय १०० गन्तब्यहरु मध्ये एक सुचिकृत हो । फङफङदेन झरना तथा त्यसबाट बग्ने पानीका दुई वटा हाँगा बहावहरु र मिक्वाखोलाले घेरिएको त्रिकोणात्मक टापुमा अवस्थित प्राचीन फङफङदेन देवी सहितको क्षेत्र नै फङफङदेन क्षेत्र हो ।
मिक्वाखोला गाउँपालिकाको मूल सडकमै पर्ने फङफङदेन झरना क्षेत्रको प्रमुख आकर्षण हो । यो झरनाको फेदीमा निर्माण भइरहेको मध्य मेवा जलबिद्युत आयोजना ७३ मेगावाट को परियोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र ड्यामबाट भविष्यमा यस क्षेत्रमा जलाशय निर्माण भएमा यो क्षेत्रको सौन्दर्य र आकर्षण थप बृद्धि हुने आशा लिइएको छ । भबिश्यमा यस क्षेत्रमा वाह्य एवं आन्तरिक पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बृद्धि हुने र यस क्षेत्रले मिक्वाखोला गाउँपालिकाको विकास एवं स्थानीय वासिन्दाहरुको सामाजिक आर्थिक परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने कुरा निश्चित छ ।
फङफङदेन झरनालाई नेपालको तेस्रो अग्लो झरना मानिएको छ, जसको उचाइ करिव १८० मिटर रहेको विश्वास गरिन्छ पहिलोः कालिकोट जिल्लाको पचाल झरना, ३८१ मिटरस दोस्रोः तेह्रथुम जिल्लाको ह्यात्रुङ झरना, ३६५ मिटर भन्ने दावी रही आएको छ तर सरकारले आधिकारिकता दिएको देखिँदैन । तथापि, पानीको सर्वयाम बहाव, आकृति र सौन्दर्यको हिसाबले यो झरना नेपाल भित्र मात्र नभई दक्षिण एशियाकै सर्वाधिक सुन्दर र मनमोहक झरनाको रुपमा दाबि गरिएकोछ । स्थानीय बुढापाकाहरुको भनाइ अनुसार विगतमा यो झरनाको उचाइ हालको उचाइभन्दा बढी थियो । दुर्भाग्यवश, झरनाको दक्षिण तर्फको पहरा खसेर झरनाको फेदीमा रहेको विशाल पोखरी पुरिन गए पछि यसको उचाइ मात्र घटेन, त्यो पोखरीमा रहेका नाङ्लो जत्रो गंगटो, मान्छे जत्रो पाहा र झरनाभित्रको ओढारमा रहेर बास्ने सुनको भाले भएको समेत किम्बदन्ती छ र ति सबै अलप भए भन्ने भनाइ छ ।
हाल यस झरनालाई फुङफुङ्गे भन्ने गरिएको भए पनि यसको वास्तविक नाम फङफङ्देन हो । झरनाबाट उत्पन्न हुने आवाज झरनाको पारिपट्टिका गाउँहरु बाल्देन र तिल्जुङबाट सुनिँदा फङ-फङ गर्ने भएकोले त्यसैको अनुकरणात्मक संज्ञाको रुपमा झरनाको नाम फङफङदेन रहन गएको हो । स्थानीय लिम्बू याक्थुङ भाषामा यसलाई फङफङदेन वधानु अर्थात् फङफङ गर्ने झरना र यो स्थानलाई फङफङदेन नामाकरण गरिएको हो र स्थानीय जनजिब्रोमा आज पर्यन्त यही नाम नै झुण्डिएको छ । नेपालका सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दद्वारा सङ्कलित किरात मुन्धुम अन्तर्गत तुङदुङगे साँबा माङ मुन्धुममा पनि यो स्थानलाई फङफङ तेम्बे भनी उल्लेख गरिएबाट यसको नाममा भ्रम वा विवाद गरिरहनु आवश्यक देखिँदैन । नेपाल एकीकरण पश्चात भाषिक अतिक्रमणकै निरन्तरता स्वरुप यसलाई फुङफुङे भन्ने गरिएको भएता पनि अब उपरान्त यो झरनालाई फङफङदेन झरना फङफङदेन वधान र यो स्थानलाई फङफङदेन भनिने छ ।
फङफङदेन देवीथान ।
फङफङदेन झरनाको पानी झरनाको फेदीबाट केही तल पुगेपछि छुट्टिएर दुई तिरबाट मेवाखोला मिसिन पुग्दा प्राकृतिक रुपमा त्रिकोणात्मक टापु निर्माण भएको छ र सोही स्थानमा फङफङदेन माङ देवी को मन्दिर (देवीथान) रहेको छ । मन्दिरभित्रको मूल थानमा लिङ्गको आकृतिको प्राकृतिक ढुङ्गा रहेको छ । यसको पुरातात्विक अध्ययनबाट यो मन्दिरको प्राचीनता वारे थप कुरा पत्ता लाग्न सक्ने सम्भावना छ केही बर्ष यस क्षेत्रमा आदिम काल देखि बसोबास गर्दै आएको लिम्बु जाति भित्रको साँबा बंशहरुको छाता संगठन “साँबा मिङस्रा सङ्चुम्भो” को पहलमा नेपाल सरकार पुरातात्व बिभागमा अध्यन तथा अन्भेषण गरि पाउ भनि यापन पत्र बुझाएको र केहि महिना पछि निरीक्षण टोलि पनि उक्त क्षेत्र र स्थान सम्म पुगेर निरीक्षण गरि फर्केको तर निरन्तर सम्बन्धित सरोकारवाला संस्थाले पुनः फलोअप नभएकोले यथार्थ रिपोर्ट बुझ्न बाकि रहेकोछ ।
फङफङदेन देवीथानको स्थापना या पुनस्थापना कसले गरेका होलान् ?
स्थानीय लोक उक्ति अनुसार पालजित फेन्छाङवा साँबाले फुपू साइनो पर्ने लोकमाया फयङ साँबासँग बिबाह गरेपछि पाप कटाउन यो मन्दिर स्थापना गरी पहिलो पटक बाख्राको पाठीको भोगबली चढाएका हुन् । साथै, सोही बखत फङफङदेन देवीमा बलीपूजा गरेको मासु भविष्यमा फेन्छाङवा वंश र कान्छो बसिङको फयङ वंशका छोरीचेलीले खानु हुँदैनू भनी बाचा बन्धन गरिएको र आजसम्म पनि यो बाचा बन्धन कायमै रही आएको छ ।
महादेवथानः
मन्दिरको उत्तरतर्फ महादेवथानमा रहेको शीलालेख बमोजिम पालजित फेन्छाङवा साँबाले नै महादेवको थान स्थापना गरेका हुन् । यस सम्बन्धी जानकार फेन्छाङवा साँबा वंशका अगुवाहरुको भनाइ अनुसार उनी रथमा चढेर हिँड्ने गर्दथे र उनले नै मन्दिरको पारिपट्टीको पहरामा प्राकृतिक रुपमा रहेको महादेवको मुर्तिलाई रथमा राखेर ल्याई यो महादेवथान पुनर्स्थापना गरेका हुन् ।
साँबा बंशहरुको संक्षिप्त परिचय
नेपालको सुदुर पूर्र्वी जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वाड नं. ४ अन्तर्गत साविक साँबा र पापुङ गा.वि.स को भू-भाग साँबा बंशहरुको आदिम थातथलो हो । पुर्वमा ताङवारा (सेम्सेम्मा) पस्चिममा सिवाखोला उत्तरमा पेवाकोक्मा दक्षिणमा खेङजुवा खोलाको विचको भू–भाग परापूर्वकाल देखि साँबा वंश-पुर्खाहरुको किपट थियो । साँबाहरुको बंश र इतिहास खोजी जारी रहे पनि मुलत साँबा बंश भित्र चङवाङ साँबा,लुङहिम साबाँ,फेयङ साँबा,मिक्केङदाङ साँबा,मादेन साँबा,मुदेन्छङ साँबा,फेन्छङवा साँबा,कोइदाङबा साँबा र तङदप्पा साँबा पर्दछन । लिम्बुवानका लिम्बुहरुले आफ्नो शिर उच्च राख्न् माङगेन्ना गर्ने विशिष्ट सास्कृतिक-धार्मिक परमपरा छ । यो परमपरा साँबा बंशहरुमा पनि छ । सम्पूर्ण साँबा बंशहरुको माङगेन्ना यक लिङथाङमा यक हो । माङगेन्ना यक संगै धार्मिक अनुष्ठानको गर्ने तुङदुङगे साम्माङको पुजा गरिन्छ । साँबाहरुको पुर्खासंग जोडिएका पौराणिक कथा,किम्बदन्ती-प्राचिन लोक संस्कृतिक र धार्मिक सम्पदाहरु नै साँबा बंशहरुको पुख्र्यौलि लोक सम्पति हुन ।
१, लिङथाङमा यक: सम्पूर्ण साँबा बंशहरुको माङगेन्ना यक लिङथाङमा यक हो । यो मिक्वाखोला गाउपालिका (साविक साँबा) वाड नं. ४ मा पर्दछ ।
निर्माणाधीन माङगेन्ना यक हिम
निर्माणकार्यमा आर्थिक भौतिक सहयोग दाताहरुको शिलालेख निर्माणाधीन
लिङथाङमा यक माङगेन्ना हिम को (DPR) डिजाईन नक्शा
माङगेन्ना यक बंश एकताको केन्द्र विन्दु हो । फेदाङमाहरुले साँबाहरुको माङगेन्ना गर्दा मुन्धुममा लिङथाङमा यक जोडनै पर्ने हुन्छ यदि जोडिएन भने साँबा थरको माङगेन्ना हुदैन । मिति २०७३ सालमा साँबामा श्री नरेन्द्र चङवाङ साँबाको अध्यक्षतामा २१ सदस्यीय स्थानिय माङगेन्ना यक हिम निर्माण समिति गठन भएको छ । उक्त समितिको सकृयतामा मिक्वाखोला गाउँपालिका,स्वदेश तथा बिदेशमा साँबा बंशहरु सहयोग र स्थानिय श्रमदानमा माङगेन्ना यक हिमको निर्माण हाल तिब्रगतिमा भइरहेको छ ।
२, हाङचुम्भ्रुङ: हाङहरुको बैठक बस्ने स्थान हाङचुम्भ्रुङ हो ।
हाङचुम्ब्रुङ तुङदुङगे साम्माङ अनुष्ठानको अभिन्न अंग हो । हाङचुम्भ्रूङ नाम किन राखियो ? यसको खोज र अध्ययन गर्नु आवस्यक छ । हाङहरु हाङचुम्लुङमा किन बैठक बस्थे ? यसको सहि उत्तर त काङसोरे, सिपा र फक्तेसंग थियो होला । साँबा बंशका राजाहरुको न्याय निसाफ गर्ने, निति नियम वनाउने, रणनिति तयार गरि राजनितिक निर्णय लिने सुरक्षित स्थान हाङचुम्भ्रुङ हो । हाङचुम्ब्रुङ साँबा यतरका सबै लिम्बुहरु अर्थात लिम्बुवानको एतिहासिक सम्पति हो । हाङचुम्भ्रुङ समग्र् लिम्बुवानकै राजनैति र रणनिति तयार गर्ने सुरक्षित स्थान थियो की भन्ने अनुमान गर्न सकिन्छ । अत्यन्तै जीर्ण अवस्थामा रहेको हाङचुम्ब्रुङलाई संरक्षण र संवर्धन गर्नु सम्पूर्ण साँबा बंश र लिम्बु जन्य संधसस्थाहरुको दायीत्व हो । हाङचुम्लुङको वर्तमान स्वरुपलाइ यथावत राखि साँबाहरुको-साँबा मिङस्रा सङ्चुम्भोको बैठक (चुम्लुङ) बस्ने बनाउने योजना रहेको छ ।
३, इम्फोम्मादेन-साम्सिङगोमा-तुङदुङगे साम्माङ:
साँबाको हाङचुम्लुङमा साँबाहरुको बैठक वसिरहेको बेला चार चौरास घुमि हिड्ने बाह्रकोकामाङ (तुङदुङगे साम्माङ) इम्फोम्मादेनमा आएर बोलाउदा साँबा बंशका मादेन साँबा पहिले बोलेको किम्बदन्ती छ । बाह्रकोकामाङ (तुङदुङगे साम्माङ)ले तिमिहरुले तुङदुङगे साम्माङको पुजा गर्नु तिमिहरुलाई शान्ति मिल्छ, हाँकेको ताकेको पुग्छ, धनसम्पति मिल्छ, माङवा हाङवा मिल्छ, तिमिहरु सारा संसार फैलिन्छौ भनेर उपदेश दिदै के (च्याब्रुङ) तिम्मक(बन्दुक) थक्चेप्फे (तरवार) निसा (रातो सेता तुल) नेप्खे (टोटोलाको फुल) खि (राता,सेतो, पहेलो) कालो सेतो तोर्मा साम्सिङ, मुक्तुको सर्दमहरु तयार गरेर ३ बर्ष पालेको बोकाले तिन तिन वर्षमा पुजा गर्नु भन्ने उपदेश दिएर बाह्रकोका माङ अलप जलप हुदै गएको किम्बदन्ती छ । त्यसैले तुङदुङगे साम्माङ साँबा बंशहरुको देउता पनि भनिन्छ । यो देउता सरेर जाने भएकोले अधिकांश गैह्र साँबा लिम्बुहरुले पनि यसको पुजा गर्ने गर्दछन ।
४, निसान (राजदन्ड): साँबा गाउको तुम्भङवा मन्दिर छेउमा स्थानीय एक साँबा परिवारको संरक्षणमा रहेको राजदण्ड रहेको छ । यो राजदण्डको बारेमा थप खोज अध्ययन गर्न सके साँबा बंश र लिम्बुवानको अरु थप इतिहास प्राप्त हुन सक्ने अनुमान छ । यो राजदण्डलाई उपयुक्त समय र परिस्थिति मिलाएर प्रत्येक तिन तिन वर्षमा (तिन दिने तुङदुङगे मेला) तुङदुङगे सम्माङको बृहत अनुष्ठान संगै प्रर्दशन गरिने छ योजना रहेकोछ ।
५, यक्चेल्लेङ : एक रहस्यमय स्थानको हो, जहाँ दुई वटा धनुष-कार्ड (तोङ-लि) अन्दाजी १०० मिटर अग्लो पहराको चेपमा सिउरिएका छन् । यी धनुष-कार्डहरू सामान्य जोकोहीले पनि स्पष्ट देख्न सक्छन् । स्थानीय ८५ बर्षीय वृद्ध मैत राज साँबाको भनाई अनुसार, उहाँको बुबाले देख्दा पनि यी धनुष-कार्डहरू यसरी र यस्दै थिए ।
कथन अनुसार, सावायुक्फुङ/सावायुक्फुङकेम्बा ईस्वारीहाङमा लाई भेट्नको लागि घुम्दै आउने क्रममा नभेटेपछि फर्किंने बेलामा बास बस्दा चिनो स्वरूप यी धनुष-कार्डहरू पहराको चेपमा सिउरिएको भन्ने किम्बदन्ती छ ।
तर, राज्यको आधिकारिक निकाय पुरातत्व विभागले यो स्थानको खोज, अनुसन्धान तथा संरक्षणको लागि अहिलेसम्म कुनै कदम चालेको देखिंदैन । यो रहस्य अझै पनि समाधान नभएको र स्थानीय समुदायको लागि एक महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन सक्छ । यसलाई संरक्षण गर्न र यसको इतिहास पत्ता लगाउन पुरातत्व विभागको ध्यानाकर्षण आवश्यक देखिन्छ ।
६, अन्य सम्पदाहरु: साँबा बंशसंग जोडिएको सम्पदाहरु जस्तै साःथी फुक्कु, तङदतलम्बा लगायत शुसुप्त रुपमा अन्य सम्पदाहरु रहेको अनुमान गरिएको छ जसको योजनावद्घ खोज तथा अनुसन्धान गरि संरक्षण गरिने छ ।
७, साँबा स्वागत (प्रवेश )द्घार: नेपाल सरकारले फङफङदेन झरना लाई पर्यटकीय क्षेत्र घोषणा गरिसकेको अवस्थामा फङफङदेन क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई स्वागतार्थ साँबा बंशहरुको पहिचान खुल्ने गरिे आकर्षक स्वागतद्घार निर्माण गरिने पनि योजना रहेको छ ।
८, बंश खोज अभिलेखिकरण तथा वृत्त चित्र निर्माण: साँबा वंशहरुको बंशावलि,इतिहास, उपथरहरुको उत्पति , पौराणिक कथा, प्राचिन लोक सास्कृतिक सम्पदाहरुको बृहत खोज अध्ययन गरि बुकलेट प्रकाशन सहित अभिलेखिकरणको तयारी छ भने साँबा बंशहरुको ऐतिहासिकतलाई समेटेर्र वृत्त चित्र डकुमेन्ट्री निर्माण अन्तिम चरणमा पुगेको छ र यस डकुमेन्ट्री मार्फत यस क्षेत्रको संस्कृतिक पर्यटन बर्बद्धनमा उलेख्य भूमिका खेल्ने आशा गरिएको छ ।
९, साँबा स्मारक-शालिक: पुर्खाहरुले रोजेको,चर्चेको र आर्जेको ठाउ साँबा गाउ भएकोले आफ्नो पुर्खाहरुको मान सम्मान गर्नु साँबाहरुको दायीत्व हो । ऐतिहासिक तथ्यको आधारमा पुर्खाहरु पहिचन गरि साँबाहरुको माङगेन्ना यकको कम्पाउन्ड भित्र पुर्खा पहिचानगरि उसको शालिक, लिम्बुवानका बहादुर सेना द्घय सिपा र फाक्तेको शालिक साथै सबै उपथरगत सम्र्पुण साँबाहरुको लागि साँबा स्मारक बनाउने योजना रहेको छ । फङफङदेनमा दैविशक्ति उत्पति गराउने पालचित्रको शालिक, इ्रम्फोम्मादेनमा तुङदुङगेको प्रतिमा र मिक्वा वहङबाट फक्ताङलुङ ढुङ्गा बोकेर ल्याई गाड्ने कत्वालको शालिक बनाउने दिर्घकालिन योजनाहरु रहेको छ ।
१०, पुस्ताकालय र याक्थुङ संग्रहलाय: माङगेन्ना यकको कम्पाउण्ड भित्र मिक्वाखोला गाउपालिकामा राष्ट्रिय स्तरको पुस्तकालय स्थापना गर्ने साथै लिम्बु जाति र नेपालमा बसोवास गर्ने सबै जातिले प्रयोग गर्ने गरगहना भेशभुषा तथा याक्थुङसंग सम्बन्धित सामग्रीहारुको एक संग्राहलय निर्माण गर्ने दिर्घकालिन योजना रहेको छ ।
११, साँबा पर्यटकीय क्षेत्र घोषणा: साँबाहरुको माङगेन्नयक, हाङचुम्ब्रङ,इम्फोम्मा देन, तङदतलम्बा, साःथी फुक्कु, फङफङदेन झरना, फङफङदेन देवि, येत्चेल्लेङ लगायतका ठाउहरुको पुरानो संरचनाहरुलाई संरक्षण गर्दै पर्यटनको थप आकर्षक संरचनाहरु निर्माण गर्न साँबा पर्यटन क्षेत्र विकास समिति गठन गरेर वुद्घिजिवि,विभिन्न संघ सस्था,राजनैतिक दलहरुसंग परामर्श गरि स्थानिय गाउपालिका,जिल्ला समन्वय समिति,प्रदेश सरकार र संघीय सरकार लाई ‘‘साँबा पर्यटकीय क्षेत्र ’’घोषणा गर्न पहल गरिने छ ।
१२, साँबा जाऊ अभियान: साँबाहरुको पुर्खौली थातथलोबाट बसाँइ सरेर वा अन्य विविध कारणले अधिकांश साँबाहरु आफ्नो थातथलो बाहिर देश विदेशमा बसोवास गर्दछन । अभिकांशलाई आफ्नो थातथालो, माङगेन्ना यक र बंश नै थाहा नभएकोले आफ्नो थातथलो देखाउन, आकर्षित गराउन र उत्प्ररित गराउन वर्षमा अनिवार्य एक पटक साँबा जाऊ अभियान सञ्चालन गरिने छ ।
किन घुम्न आउने मिक्वाखोला साँबा
१, पहाड,कन्दरा,इतिहास,संस्कृति,भाषा–समुदाय, खोला–नाला,वन–जंगलको बारेमा बुझ्न र अनुभव लिनको लागि ।
२, सावाँ समुदायको भाषा, लिपी, संस्कृति, कला, साहित्य र सम्पदाहरूको संरक्षण र विकासको अवस्था बारेमा जानकारी लिनको लागि ।
३, प्रकृति सुन्दरताकले भरिपुर्ण रमनिर्य स्थलहरु एकैपटक घुम्न र अनुभव लिनको लागि ।
४, दक्षिण एसियाकै आकर्षक दाबी गरिएको फङ्फङ्देन झरनाको मनोमहक दृश्य बाट आनन्द लिन ।
५, लिम्बू संस्कृति र मौलिक खानपिन र होम स्टे को आनन्द लिन ।
अन्त्यमा
काठमाडौंबाट ७०० किलोमिटर उत्तरपूर्वमा अवस्थित पूर्वी नेपालको ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँ-पालिका वडा न. ४ साबिक साँबा गा:बि:स:वडा न.२ स्थित तेम्बामा रहेको छ यहाँ पुग्न मेची राजमार्ग हुँदै बनान्दे ताप्लेजुङको सदरमुकाम फुङलिङ ३ किलोमिटर नपुग्दै बनान्दे बाट ३७ अथवा सदरमुकाम बाट ४० किलोमिटरको पहुँच सडकबाट पुग्न सकिन्छ ।
काठमाण्डौबाट हवाई रुट बिराटनगर धरान भेडेटार गणेश चोक (तमोर करिडोर) बहानन्दे बाट (मेची राजमार्ग) पहुँच हुदै तेम्बामा अवस्थीत अत्यन्तै मनमोहक फङ्फङ्देन झरना पुग्न सकिन्छ । सुक्खायाममा भने काठमाडौँ बाट सिधै सुकेटार विमानस्थल सम्मको हवाई यात्रा अनि विमानस्थल बाट बहानन्दे हुदै फङ्फङ्देन पुग्न सकिन्छ ।
“सामान्ग्री” तयार धनबिर/धनजित लिम्बु (साँबा)
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter